logoखबर दार्जिलिङ
अन्तिम रेफरको चिठी
Voice of People

अन्तिम रेफरको चिठी

RB
July 9, 2026Kalimpong, Kalimpong2 min read👁 100

ोकुलको गाउँको चिया बगानमा काम गर्ने बिर्खेको दिनचर्या सधैँ उस्तै हुन्थ्यो। बिहान झिसमिसेमै डोको बोकेर थाप्लोमा नाम्लो कसेर,

दिनभरि घाम-पानी नभनी पात टिप्नु र बेलुका थोरै ज्याला लिएर घर फर्कनु। तर, आज उसको घरमा धेरै दिन देखि न पोतेको चूल्हो बलेन। उस्को श्रीमती कान्छीलाई एकाबिहानैदेखि सास फेर्न गाह्रो भइरहेको थियो।

​बिर्खेले हारगुहार गरेर केही पैसा जम्मा गर्‍यो र कान्छीलाई बोकेर कालेबुङ्ग्को सरकारी अस्पताल पुर्‍यायो। अस्पतालको गेटमै खिया लागेको बोर्ड थियो, तर भित्र पस्दा लाग्थ्यो, यहाँ उपचार होइन, केवल 'रेफर' गरिन्छ।

​अस्पतालको एउटा कोठामा धूलो जमेको अक्सिजन सिलिन्डर थियो, जसको सुई शून्यमाथि नै अडिएको थियो। ड्युटीमा रहेका डाक्टरले कान्छीलाई एकपल्ट मात्रै हेरे। उनले स्टेथोस्कोप पनि लगाएनन्। केवल एउटा पर्चामा लेखे—

"सिलिगुडी रेफर।"

​बिर्खेको हात काँप्यो। उसले बिन्ती गर्‍यो, "डाक्टर साब, यहाँ अक्सिजन छैन र? बिरामीको अवस्था गम्भीर छ, बाटोमा नै केही भइहाल्यो भने म के गरूँ? मसित यति टाढा लाने न गाडी छ, न त पैसा नै।"

​डाक्टरले निस्सासिँदै जवाफ दिए, "यहाँ न राम्रो डाक्टर छन्, न आइसीयू (ICU) नै। हामीसित केही छैन। कि त लैजाऊ, कि त मर्न देऊ। म केही गर्न सक्दिनँ।"

​बिर्खेले अस्पतालको परिसरमा नै कयौँ मानिसहरूलाई यस्तै अवस्थामा देखेको थियो। कतिपयले त अस्पताल पुग्ने बित्तिकै 'रेफर' को चिठी पाएका थिए। चिया बगानका श्रमिकहरूका लागि अस्पताल जानु भनेको उपचार पाउनु होइन, मर्नका लागि अर्को ठाउँ खोज्नु जस्तै भएको थियो।

​उसले सोचे— "पहाडका मानिसको रगत र पसिनाले बगान त हरियो हुन्छ, तर यिनीहरूको जीवन बचाउने अस्पताल किन यति उजाड छ?"

​बिर्खेले ऋण खोजेर एउटा पुरानो गाडी त जोड्यो, तर बाटोमा नै कान्छीको सास अलि-अलि गर्दै कम भयो। घुम्ती काट्दा-काट्दै कान्छीको हात बिर्खेको हातबाट खस्यो। डाक्टरले हात उठाएका थिए, अस्पतालले सुविधा दिएको थिएन, र गरिबीले उपचारको ढोका बन्द गरिदिएको थियो। गोकुलको गाउँमा फेरि एकजनाको मृत्यु भयो। न कुनै ठूलो दुर्घटना, न कुनै भयानक रोग; केवल समयमा नपाएको उपचार र सरकारी उपेक्षाको शिकार।

​बिर्खे अहिले पनि बगानमा पात टिप्छ, तर अब उसको मनमा एउटा प्रश्न सधैँ खट्किरहन्छ— "हाम्रो पहाडमा मान्छेको ज्यानको मूल्य के एउटा

'रेफर' पर्चाभन्दा पनि सस्तो छ?"

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:Voice of PeopleKalimpongKalimpong

💬 Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By Raymond Basnet

All rights reserved. Content may not be reproduced without permission.